सम्झनामा जनआन्दोलन २०६२-०६३ : राजतन्त्र ओरालो लागेको दिन

image

हातहतियारका साथ उपत्यका छिरेका माओवादी छापामारले कांग्रेस एमालेको झण्डामुनि बसेर गोली चलाए भने कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सुरक्षा निकाय चिन्तित थियो । जनता सडकमा ओर्लिन थालेपछि कर्फ्यु लाग्यो ।

२०६२ चैत्र २४ गतेबाट शुरु भएको जनआन्दोलन २०६३ साल सुरु हुँदा शिखरतर्फ उक्लिसकेको थियो । माओवादीले कम्तीमा ३० हजार मानिस टाउको गनेर राजधानी पठाउने वचन आन्दोलनरत दलका नेताहरुलाई दिएको सूचना राष्ट्रिय अनुसन्धान विभागसँग थियो ।
हातहतियारका साथ उपत्यका छिरेका माओवादी छापामारले कांग्रेस एमालेको झण्डामुनि बसेर गोली चलाए भने कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सुरक्षा निकाय चिन्तित थियो । राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा दिनहुँ हजाराैं जनता सडकमा ओर्लिन थालेपछि सरकारले कर्फ्यु लगाउने नीति लियो ।
कर्फ्यु लगाउदा भिड नियन्त्रण गर्न सहज हुन्छ भन्ने सेनाको विश्लेषण थियो । तर प्रहरी अधिकारीहरुको निष्कर्ष भने जनता दलहरुकै साथमा रहेकाले आन्दोलन दबाउन सम्भव छैन भन्ने थियो । सेनाको नेतृत्वमा रहेको युनिफाइड कमाण्डले प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको विश्लेषणलाई महत्व दिएन ।

सबै सुरक्षा निकायका प्रमुख भद्रकाली स्थित सैनिक मुख्यालयमा सुरक्षा अवस्था बारे छलफलमा व्यस्त रहेका बेला बैसाख ७ गते भक्तपुर तिरबाट दुई तीन लाखको जुलुस सैनिक मुख्यालय भद्रकालीतर्फ अघि बढेको सुचना आइपुग्यो ।
तीनकुने, बानेश्वर र माइतीघरमा सुरक्षाकर्मीले रोक्ने प्रयत्न गरे तर लाखौंका अगाडी केही लागेन । जुलुस आर्मी हेडक्वाटरभित्रै पस्छ भन्ने निष्कर्ष निकालियो र माइतीघरबाट हेडक्वाटरतिर अघि बढे गोली हान्नु भन्ने आदेश दिइयो ।
त्यति बेला सेनाले आन्दोलन निरिक्षण गर्ने भनेर हेडक्वाटरमा तल फिल्डमा खटिएका सुरक्षामा अधिकारीबाट सिधै सूचना प्रबाह गर्न मिल्ने संयन्त्र जडित एउटा नयाँ एकुरेल हेलिकप्टर स्टाण्डबाई रहन्थ्यो । राष्ट्रिय अनुसन्धान विभाका प्रमुख देवीराम शर्माले मसँग भनेका थिए 'त्यो दिनपछि मात्र सेनाले सुरक्षा निकायबाट आन्दोलन नियन्त्रण असम्भव भएको निष्कर्षसहित राजनीतिक समाधान खोज्न राजालाई सुझाव दियो ।'
कर्फ्यु नाम मात्रमा सिमित भयो । राजनीतिक वार्ता नहुँदासम्म स्थिति सामान्य बनाइराख्ने प्रयोजनका लागि मात्र सुरक्षा संयन्त्र परिचालित थियो ।
युनिफाइड कमाण्डको प्रमुखका हैसियतमा प्रधानसेनापति प्यारजंग थापा फिल्डमा खटिएका सुरक्षाकर्मीलाई 'आत्मसुरक्षाका लागि बाहेक गोली नै नहान्नु, कसैको पनि ज्यान जानु हुँदैन कुनै हालतमा भीडमा गोली नचलाउनु' भन्ने निर्देशन दिन व्यस्त थिए । फिल्डमा खटिएका अधिकृतहरु भन्थे 'सर आन्दोलनकारीको भेषमा हतियारसहित आएका माओवादी ब्यारेक कब्जा गर्न आए पनि केहि पनि नगरी बस्ने ?'
यसबीच दरबारले बीपी पुत्र तथा शाही सरकारका मन्त्री प्रकाश कोइरालामार्फत् नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर आन्दोलन साम्य पार्ने रणनीति बनायो । तर भट्टराईले प्रधानमन्त्री पद अस्विकार गरेपछि दरबार झन् संकटमा पर्यो । पछि प्रकाश कोइरालाले मसँग भनेका थिए 'मैले नै चार पाँच चरण किसुनजीसँग कुरा गरे । उहाँले मानेको भए स्थिति अर्को हुने थियो ।'
भारत सरकारको बिशेष दुतका रुपमा बैसाख ६ गते नेपाल आएका डा. करण सिंहले राजा र दलका नेताहरुसँगको भेटलाई तीव्र बनाएका थिए । भारतको सल्लाहमा राजाले २०६३ बैसाख ८ गते शाही घोषणा मार्फत् आन्दोलनरत सात राजनीतिक दलहरुलाई सरकार बनाउन आउन आग्रह गरे । तर आमजनता, नागरिक, समाज र बुद्धिजीवीका तर्फबाट शाही घोषणा धोका भएको भन्दै सम्झौता नगर्न आन्दोलनकारी दल र नेताहरुलाई तीव्र दवाव आइरहेको थियो ।
बैसाख ९ गते बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शाही घोषणा बारे पार्टीको आधिकारीक धारणा तय गर्न महाराजगञ्जस्थित निवासमा कांग्रेसका केही नेताहरुलाई बोलाएका थिए । सोही दिन आन्दोलनरत सात दलको बैठक बोलाएर साझा अवधारणा बनाउने रणनीतिमा कोइराला थिए । तर भारत, अमेरिका, युरोपियन युनियन सम्बद्ध मुलुकका राजदुतहरुले उनलाई राजाको घोषणा मानेर अघि जान कुटनीतिक दवाव दिएरहेका थिए । कोइरालाको भनाई उदृत गर्दै कांग्रेस नेता चक्र बास्तोलाले मसँग त्यसै दिन भनेका थिए- 'आज अमेरीकी राजदुत जेम्स एफ मोरिआर्टी आएका थिए । राजाको यही घोषणालाई निकास र मौका ठानेर अघि वढ्नु भनेर गए ।'
राजाले प्रतिनिधिसभा पुनस्थापना गरी राज्यशक्तिको स्रोत नेपाली जनता भएको घोषणा नगरेसम्म आन्दोलन नरोकिने जवाफ कोइरालाले मोरियार्टीलाई दिए ।
मोरियार्टी कोइराला निवासबाट फर्किदै गर्दा सडकमा ठूलो प्रदर्शन सुरु भइसकेको थियो । कोइराला निवासमा सात दलको बैठक सुरु हुन नपाउँदै राजासँग सम्झौता नगर भनेर ठूलो संख्यामा प्रदर्शनकारीहरु कोइराला निवासको मूल ढोकामा नाराबाजी गरिरहेका थिए ।
नेताहरु कोइराला निवासमा जम्मा भएपछि सात दलको बैठक सुरु भयो । निवास बाहिर 'शाही घोषणा धोका हो' भन्ने नारा जारी थियो ।

सत्तामा सहभागी हुन विदेशीले दिएको चर्को दवावलाई बेवास्ता गर्दै दलहरुले सम्पूर्ण रुपमा जनाधिकार फिर्ता नभएसम्म आन्दोलन नरोकिने घोषणा गरे । अनि बैसाख १२ गते राजधानीको पुरै चक्रपथ मानव सागरले घेर्ने र आन्दोलनरत सातै दलका शीर्ष नेताहरुको नेतृत्वमा चक्रपथका प्रमुख स्थानमा सभा गर्ने निर्णय भयो ।
जसअनुसार महाराजगञ्जमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, सितापाइलामा सद्भावना पार्टी आनन्दीदेवीका उपाध्यक्ष भरतविमल यादव, कलंकीमा एमाले महासचिव माधव नेपालले सम्वोधन गर्ने कार्यक्रम थियो । त्यसैगरी सातदोबाटो, चावहिल, गोंगवुमा अरु पार्टीका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भयो । सेनाले दलका नेताहरुलाई तोकिएको स्थानमा जानबाट रोक लगाउन सक्ने भएकाले ११ गते राति नै तोकिएको स्थानमा पुगिसक्ने उर्दी जारी गरिएको थियो ।

बैसाख ९ गते नै भारतीय राजदुतावासमा एउटा पार्टीको आयोजना गरिएको थियो । त्यहाँ नेपाली कांग्रेसका अर्जुननरसिंह केसी, एमालेका भरतमोहन अधिकारी, प्रजातान्त्रिक कांग्रेसका प्रकाशमान सिंह, भारतका लागि पूर्व नेपाली राजदुत लोकराज बराल, पत्रकार युवराज घिमिरे लगायतको सहभागिता थियो ।
भारतीय दुत डा. करण सिंह, विदेश सचिव श्यामशरण, नेपाल डेक्स हेर्ने प्रमुख पंकजशरण लगायतका अधिकारी रहेको त्यो पार्टीमा नेपालको राजनीतिक समस्या समाधानका बारेमा खुल्ला बहस भयो । भारतीयहरुले सात दलका नेताहरुसँग भने- राजाले तपाईहरुलाई प्रधानमन्त्री बनाउने वचन दिएका छन् । सरकारमा गएर आफ्नो माग पुरा गर्नुस् । प्रतिनिधिसभा पुनस्थापना गर्दा भैहाल्छ । तपाईहरु सरकारमा जाँदा राम्रो हुन्छ । अब कति दिन यसरी अन्यौलमा बस्ने । -पछि अन्तर्वार्तामा अर्जुनरसिंह केसीले बताए ।)
नेताहरुले भने- अहिलेको घोषणा अन्तर्गत हामी कुनै पनि हालतमा सरकारमा जाँदैनौं । पूर्व राजदुत बरालले त संसद्को पुनस्र्थापना हैन अब गणतन्त्रमा जानु पर्छ भन्नेमा जोड दिए ।
बैसाख ८ को शाही घोषणापछि आन्दोलन झनै चर्किएर गयो । राजधानी लगायत मुलुकभर शसक्त प्रदर्शन भयो । सात दलले आन्दोलन नरोक्ने निर्णय गरेपछि दरवार सम्भावित निकास खोज्न थाल्यो । बैसाख १२ को कार्यक्रम घोषणा भइसकेको थियो ।
त्यहीबीच युएनडीपीका नेपाल प्रमुख म्याथु कहानेलाई राजाले दलहरुसँग संवाद सुत्रका रुपमा का गर्न आग्रह गरे । कहाने दलका नेताहरुसँग छफफल गरी सहमतिको प्याकेज बनाउन कृयाशील थिए । यो काममा कहानेलाई दरवारका मुख्य सचिव पशुपतिभक्त महर्जनले सघाई रहेका थिए । नेपाली कांग्रेसका तर्फबाट सभापति गिरिजाप्रसाद कोइरालाले कहानेसँग कुरा गर्ने जिम्मेवारी डा. रामशरण महतलाई दिएका थिए ।
कहानेले एमाले महासचिव माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेटी छलफल गरे । दलहरु एकातिर आन्दोलनलाई शसक्त बनाउने र अर्कोतर्फ राजासँगको वार्तालाई पनि उपयोग गरेर अघि बढ्ने रणनीतिमा थिए ।
सरकारले कर्फ्यु लगाएर पाससमेत दिएन भने बैसाख १२ गतेको आमसभाको समाचार संकलन गर्न सकिँदैन भनेर त्यो दिन कान्तिपुर टेलिभिजनका तर्फबाट हामीले महाराजगञ्ज, कलंकी, बालाजु, सातदोबाटो लगायतका स्थानमा राति नै ७ वटा टिम परिचालन गरेका थियो । म र उपेन्द्रमान सिंह महाराजगञ्जको एउटा होटलमा बस्याैं । भूवन केसीको टिम कलंकीमा थियो ।
होटलमा खाना खाएर नौ बजेतिर म र उपेन्द्रमान सिंह कोइराला निवासको गेट नजिक पुगेका थियो । कोइरालाका नीजी सुरक्षाकर्मी महेन्द्र मरासिनी फेला परे । उनले भने 'ढुक्क हुनुस् भोलिको कार्यक्रम हुँदैन । आजै राति प्रतिनिधिसभा पुनस्थापना भएर आन्दोलन रोकिन्छ । तपाईहरु आराम गरेर टेलिभिजन हेर्नुस् ।'
दरबारसँग वार्ता चलिरहेकाले बैसाख ११ गते दिउँसो कांग्रेस सभापति कोइराला आफैले साना दलका नेताहरुलाई फोन गरी भनेका थिए तपाई कँही नजानु होला २४ घण्टा घरमै बसिरहनु होला जुनसुकै बेला फोन सम्पर्क गर्नु पर्ने हुन्छ ।

११ गते दिउँसोतिर कांग्रेस सभापति कोइरालाको निवासबाट निजी सचिव वालकृष्ण दाहालले फोन गरी कांग्रेस नेताहरु सुशील कोइराला, अर्जुननरसिंह केसी, महेश आचार्य, डा. रामशरण महत, रामकृष्ण ताम्राकार, चक्र बाँस्तोला, आमोद उपाध्याय, कृष्ण सिटौला लगायत राजधानीमा उपलब्ध सबै केन्द्रीय सदस्यहरुलाई महाराजगञ्जमा वोलाए ।
बन्द भएकाले धेरै नेताहरु पैदल महाराजगञ्ज गए । उपसभापति सुशील कोइराला लगायतका केही नेता समाज डेन्टल हस्पिटलको मोटर चढेर गएका थिए ।
कोइराला निवास पुगेपछि मात्र धेरै नेताहरुलाई थाहा भयो दरबारले कस्तो बक्तव्य दियो भने आन्दोलन रोकिन्छ भनेर सम्पर्क सुत्रमार्फत् नेपाली कांग्रेस र एमाले नेताहरुसँग सम्पर्क गरेको रहेछ । राति राजाको शाही घोषणा आउने हल्ला चलिसकेको थियो । त्यही थाहा भयो-डा.रामशरण महतले एउटा अंग्रेजीमा गरिएको ड्राफ्ट म्याथ्यु कहानेमार्फत् दरबारमा पठाएका रहेछन् ।
एकातिर दरबारसँग वार्ता भइरहको थियो भने अर्कोतर्फ आन्दोलनको तयारी जारी नै थियो । सद्भावना आनन्दीदेवीका उपाध्यक्ष भरतविमल यादवले बेलुका सात बजे कोइरालालाई फोन गरेर म सितापाइलाका लागि हिडांै भनेर सोधे । १२ गते सितापाइलामा हुने आमसभाका लागि यादव मुख्य वक्ता थिए ।
'गिरिजाबाबुले अहिले नजानुस्, कुरा नमिले राती ११ बजेसम्म हिँड्नु होला । अहिले घरमै बस्नुस् भन्नुभयो । म गइनँ । राती ९ बजे गिरिजाबाबुको फोन आयो- ल कुरा मिल्यो । ११ बजे राजाको संवोधन हुँदैछ । टेलिभिजन हेरेर बस्नुहोस् । (भरतविमल यादवसँग २०६६ पुषमा गरेको अन्तवार्ता)
कोइरालाले कांग्रेस नेता अर्जुननरसिंह केसीलाई भने- 'यार अर्जुनजी दरबारमा पठाएको यो वक्तव्य एकपटक हेर्नुस् त ।' ड्रापmटको कपी त्यहाँ सबैले हेरे । केसीले भने- 'दरबार पठाइ नै सकेको भए किन हाम्रो सल्लाह चाहियो त गिरिजाबाबु ?' केसीलेे झांेकमा त्यो कागज फालिदिए ।
कागज कांग्रेस नेतृ एवं कोइरालाकी भाउजु नोना कोइरालालाको मुखमा पुग्यो । त्यो वातावरण देखेर नोनाले भनिन्- 'आम्मै अर्जुनजी के गरेको यो अलिकति तमिज पनि त हुनु पर्‍यो नी ?'
सभापति कोइरालाको समेत सहमतिमा दरबार पठाइएको वक्तव्यमा संविधानको धारा १२७ बमोजिम प्रतिनिधिसभा पुनस्थापना गर्ने कुरा उल्लेख थियो । -केसीसँगको अन्तवार्ता)
केही समयको छलफलपछि महतले तयार गरेको शाही घोषणाको ड्राफ्ट अपुरो भएको निष्कर्षमा नेताहरु पुगे । कोइरालाले भने- ल अब के गर्नु पर्छ गर्नुस् । कसरी सच्याउन सकिन्छ । अनि राजाले पढ्ने वक्तव्यको लेख्ने काम सुरु भयो ।
कोइराला निवासको माथिल्लो तल्लामा रहेको सभापति कोइरालाको बेडरुमसँगै जोडिएको कोठामा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सुशील कोइराला, अर्जुननरसिंह केसी, महेश आचार्य र कृष्ण सिटौला थिए । अरु नेताहरु वरण्डामा यताउता गर्न थाले । कलम समाएर वक्तव्यको ड्रापmट लेख्ने काम महेशले गरे भने पौडेल, केसी, सिटौला वक्तव्यमा राख्ने बुँदाहरु भन्न थाले । वक्तव्य लेखिरहँदा लोडसेडिङ थियो । मैनबत्तिको उज्यालोमा केही बेरमै वक्तव्य तयार भयो ।

केहीबेरमा एमाले महासचिव माधव नेपाल, अमृत बोहरा, भरतमोहन अधिकारी आईपुगे । एमाले नेता प्रवेश गरेको केहीक्षणमै दरबारका प्रमुख सचिव पशुपतिभक्त महर्जन पुगे । उनले सुरुमै सोधे- माधवजीहरु आई पुग्नु भयो । कोइराला निवास पुगेका कांग्रेस नेताहरुले त्यतिबेला थाहा पाए- दरबारले एमाले नेतासँग पनि कुरा गरेको रहेछ ।
एमाले नेता र दरबारका मुख्यसचिव महर्जन आएपछि कोइरालाले दुई जनाबाहेक कांग्रेसका अरु नेतालाई बैठक कक्षमा नबस्न भने । अर्जुननरसिंह र महेश बैठक कक्षमा बसे भने चक्र र आमोद वरण्डावाट यताउता हेर्न थाले ।
दरबारले शाही घोषणाका लागि तयार पारेको मस्यौदामा प्रतिनिधिसभा पुनस्र्थापना गर्ने उल्लेख थियो । तर पुनस्र्थापित प्रतिनिधिसभाको बैठकको मिति भने दलहरुको परामर्शमा सभामुखले तय गरी राजामा जाहेर गर्ने भन्ने भाषा राखिएको थियो । सभापति कोइराला र एमाले नेता नेपालले त्यसमा अपत्ति जनाए र बैसाख १५ गते नै बैठक बोलाउने घोषणा एकै पटक हुनु पर्ने अडान राखे ।
कोइरालाले भने 'आज राति भैसक्यो । राजा पनि सुतिबक्स्यो होला । राजाले पठाएको मस्यौदामा हाम्रा धेरै असहमति छन् । त्यसलाई सच्याउन तपाईले फेरि राजाको स्वीकृति लिनु पर्ने होला ।'
महर्जनले भने, 'सरकारबाट हुकुम भएको छ । यहाँहरुबाट जे भनिबक्सिन्छ मौसुफ त्यसै अनुरुप अघि बढ्न तयार होइबक्सिन्छ । आजै राति सबै काम सक्नु पर्छ । राजा टेलिभिजनलाई तयारी अवस्थामा राखेर बसिबक्सेको छ ।'
त्यसपछि फेरि वक्तव्यको टुंगो लगाउन कांग्रेस र एमाले नेताहरुबीच छलफल भयो । एमालेका तर्फबाट पनि एउटा वक्तव्यको खाका बनाएर ल्याइएको थियो । पछि कांग्रेस एमाले दुवैले सहमतिमा एउटै वक्तव्य बनाएर दरवार पठाए । -अर्जुनरसिंह केसी सँगको कुराकानी)
अन्तमा कोइरालाले भने- यहाँबाट पठाएको मस्यौदामा कमा, फुल स्टप पनि परिवर्तन भयो भने हामीलाई स्वीकार्य हुने छैन । महर्जनले भने- विश्वास गरिबक्सियोस् हजुर, कुनै फेरवदल हुने छैन ।

३ दिन अघि बैशख ८ गतेको शाही घोषणा बारे छलफल गर्न कोइराला निवासमा बसेको आन्दोलनरत सात दलको बैठकको निर्णय कम्प्युटर टाइप गर्न पानीमा भिज्दै ९ गते नेताहरु कृष्ण सिटौला र रमेश लेखक लुक्दै प्रजातन्त्रिक कांग्रेसको कार्यालय पुगेका थिए । त्यसैले फेरि त्यस्तो समस्या नहोस् भनेर कांग्रेसले सभापति कोइरालाको निवासमा एउटा कम्प्युटर, पि्रन्टर र कांग्रेस पार्टी कार्यालयका १ कर्मचारीलाई स्टान्डवाई राखेको थियो । तिनै कर्मचारी प्रकाशले राति राजा कहाँ पठाइएको अन्तिम मस्यौदा टाइप गरे ।
'कोइराला निवास महाराजगञ्जमा गिरिजाबाबुको बेडरुम बाहिरको कोठामा तयार भएको शाही घोषणाको मस्यौदा तल्लो तल्लामा टाइप भयो । राति नै अर्जुननरसिंह केसीले २०४६ को जनआनदोलनपछि बनेको अन्तरिम सरकारका मन्त्री निलाम्बर आचार्यलाई कोइराला निवासबाटै फोन गरी ड्रापmटको मस्यौदा पढेर सुनाएका थिए । -निलाम्बर आचार्यसँगको कुराकानी)

राति ९ बजे राजाका मुख्य सचिव महर्जन मस्यौदा लिएर दरबार गए । घोषणाका लागि दलहरुका तर्फवाट पठाइएको अन्तिम मस्यौदा भने कोइरालाका सहयोगी कृष्णचन्द्र झाले महाराजगञ्जको एक कम्युनिकेशन सेन्टरबाट दरबारमा फ्याक्स गरेका थिए ।
कोइराला निवासमा तयार भएको त्यो मस्यौदा ज्ञानेन्द्रले ११ बजेको शाही घोषणामा जस्ताको तस्तै पढे ।
यसमा उनले केही थपेर पनि भनेका थिए । तर यसमा दलहरुले आपत्ती जनाएनन् । थपिएका शब्दहरु थिए- 'प्यारा देशवासीहरु', 'श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन्' र 'जय नेपाल' ।

वैशाख ११, २०७२ गते कान्तिपुर दैनिकमा प्रकाशित

 




प्रतिक्रिया