नेतृत्वको आचरण र व्यवहारले गणतन्त्रमा प्रश्न

image

माओवादी नेता क्षेत्रीले लेखकलाई सुनाए ‘पहिला जुन घरमा भेट्ने प्रबन्ध मिलाइएको थियो । सुरक्षाका दृष्टिले त्यहाँ उचित लागेन । फेरि नजिकै मन्दिरका चौकीदारसँग सम्पर्क गरेर मन्दिर परिसरमै भेट्ने व्यवस्था मिलाएँ ।’ कोइरालासँगको पहिलो भेटमा उनका तर्फबाट चक्र थिए भने माओवादीबाट प्रचण्ड, बाबुराम र वामदेव क्षेत्री । 

भनिन्छ, बाह्र वर्षमा खोलो फर्किन्छ । मुलुक २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी गणतन्त्रमा प्रवेश गरेको बाह्र वर्ष पूरा भयो । यतिबेला नेताहरूको आचरण र व्यवहारको भने तीव्र आलोचना भइरहेको छ ।  जनता कोभिड–१९ महामारीबाट आक्रान्त छन् । सत्तामा बस्नेलाई भने जनताको जीवन भन्दा शासन जोगाउने चिन्ता देखिन्छ । त्यसैले त जनसाधारणको मुखबाट सुनिदै छ – ‘राजा गए, राजै राजा उदाए’ । 

गणतन्त्र आएपछि जनताका दुःखका दिन रहँदैनन्, विकास र समृद्धि हुन्छ भन्ने नारा दिइयो । तर नेपाली जनता इतिहासकै कठिन मोडमा रहेका बेला नेतृत्व वर्ग उनीहरुलाई सहायता गर्नुको साटो राजाको भूमिकामा देखिएको गुनासो बढेको छ । 

यो आलेख मुलुकलाई गणतन्त्रमा लैजान कोसेढुंगाको भूमिका निर्वाह गर्ने एउटा ऐतिहासिक भेटवार्तामा केन्द्रित छ । बाह्र वर्षअघि देशको राजनीति दरबार, संसद्वादी र माओवादी तीन ध्रुवमा विभाजित थियो । दरबारको दाउपेच र धोकाका कारण राजनीतिक शक्ति समिकरण बदलियो । दल र माओवादी एउटै बिन्दुमा आउन सहमत भए, राजतन्त्र एक्लियो । अनि मुलुक गणतन्त्रको मार्गमा गयो । 

विसं २०५९ को कुरा हो । उत्तराधिकारीका रुपमा नजन्मिएका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र (राजाका माइलो छोरा) संयोगले दोस्रो पटक सिंहासनमा थिए । राजनीतिक दल र तीनका नेतालाई बदनाम गर्दै शक्ति बढाउने उनको दाउपेच उत्कर्षमा थियो । दल र माओवादीलाई एक अर्काविरुद्व उपयोग गर्दै सत्ता उन्मादमा रमाएका थिए उनी । सैन्यबलमा अघि बढेका राजाको सहरी क्षेत्रमा जगजगी थियो ।  

अर्कोतिर सर्वहारा वर्गको उत्थानका लागि भन्दै दुर्गम भेगका जनता संगठित गरेर माओवादीले ग्रामीण इलाकामा हिंसाको प्रभावमा कब्जा गरेका थिए । राजा र माओवादीको बन्दुकका सामु जनसाधारण निरीह थिए । प्रधानमन्त्री शेरबहादुर देउवा दरबारको साथ पाएर सैन्यबलका भरमा माओवादी तह लगाउने अभियानमा थिए । 

अर्कोतिर राजाको अपमानबाट राजीनामा गर्न बाध्य कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला भने माओवादीसँग सहकार्यका लागि प्रयास गरिरहेका थिए । उनका हरेक गतिविधिमा दरबारको कडा निगरानी थियो । सैनिक सचिव विवेककुमार शाह २०५९ वैशाख ३ को डायरीमा लेख्छन् – ‘भारत भ्रमणमा रहनु भएका पूर्वप्रधानमन्त्री कोइराला हयात होटलमा बस्नु भएको छ । कांग्रेस नेता चक्रप्रसाद बास्तोलाले कोइरालालाई माओवादी नेतासँग भेट गराउने प्रयास गरिरहनु भएको छ । तर, सम्भव भइनरहेको खबर छ ।’

आफू दिल्ली उँड्नुअघि माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटको चाँजोपाँजो मिलाउन कोइरालाले बास्तोलालाई दिल्ली पठाएका थिए । त्यसको केही दिनपछि उनी आफू दिल्ली विमानस्थलमा ओर्लिए ।  चक्रले भने – ‘गिरिजाबाबु फाइनल टक गर्ने हो ? कि इसेन्सियल । कुरा गरेपछि सकिन्छ भने त सकियो नि ? राज्यको ठूलो समस्या समाधानका लागि नेतृत्व तपाइँले लिनुभयो । कुरा सकियो ।’

कुराकानी सकिएपछि चक्र इन्डिया इन्टरनेसनल सेन्टरमै फर्किए । अनि वामदेव क्षेत्रीसँग कुरा गरे । दुवैको भेटघाट भयो । दिल्लीको मध्यसहरमा । आफ्नै मोटरमा राखेर वामदेवले चक्रलाई एउटा बस्तीमा पुर्‍याए । ‘एक छिन यहीँ बस्नुस् है चक्र जी म आई हाल्छु’ भनेर उनी हराए । केही समयपछि डा.बाबुराम भट्टराई त्यहीँ आइपुगे । 

उनी वामदेव क्षेत्रीसँग समन्वय गरी कोइराला र प्रचण्डको भेट गराउने तयारीमा लागे । क्षेत्रीसँग चक्रको पहिलो भेट कोइरालाका भतिजा निरञ्जनको ससुराली (डाल्मीया) को घरमा भएको थियो । 

चक्र : बाबुराम जी, गिरिजाबाबु आउँदै हुनुहुन्छ । मुलुकले अब यो तहको हिंसा धेरै थेग्न सक्दैन । तपाइँहरु शान्तिपूर्ण राजनीतिमा आउनु पर्‍यो । अध्यक्ष प्रचण्ड र तपाइँले गिरिजाबाबुसँग भेट्ने प्रबन्ध गर्नु पर्‍यो । 

बाबुराम : गिरिजाबाबुसँग भेट्ने हाम्रो चाहना पहिलेदेखिकै हो । संयोग मिलेको थिएन । भेट्ने ।

चक्र : त्यसो हो भने म इन्डिया इन्टरनेसनलमा भेट्ने प्रबन्ध मिलाउँछु । तपाईँले मिति तय गरेर मलाई भन्नुस् । 

बाबुराम : नेपाल र भारत दुवै मुलुकले आतंककारी घोषणा गरेका हामी कसरी त्यहाँ भेट्न सक्छौँ । त्यहाँ कूटनीतिक समुदायको जमघट हुन्छ । 
चक्रलेअर्को ठाउँ दिए । 

बाबुराम : त्यहाँ पनि हुँदैन । 

चक्र : त्यसो भए स्थान र मिति तपाइँ नै तय गरेर खबर गर्नुस् । 

बाबुराम : हुन्छ । 

चक्र : ‘त्यसो हो भने भेटवार्ता बिहानै गराउनु पर्छ । नत्र ‘इन्टेलिजेन्स’ का मान्छे आउँछन् । सुरक्षाका मानिस नआई पुग्दै गिरिजाबाबुलाई हिँडाउनु पर्छ ।’

त्यसको केही दिनपछि फेरि माओवादीले नै भेट्ने स्थान तय गरे र चक्रलाई खबर पठाए । 

पूर्वयोजनाअनुसार बिहानै भारतीय सुरक्षाकर्मी छलेर कोइरालालाई होटल बाहिर ल्याउने अनि र प्रचण्डसँग भेट गराउने तयारी चक्रले सुरु गरे । 

यस सन्दर्भमा क्षेत्रीले लेखकलाई सुनाए ‘पूर्वप्रधानमन्त्रीका नाताले गिरिजाबाबुको सुरक्षामा भारतीय र नेपाली सुरक्षाकर्मी जाजुस परिचालित हुने नै भए ।’ नेपाल सरकारले आतंकारी घोषणा गरेको माओवादीकै शीर्ष नेतासँग पूर्वप्रधानमन्त्री कोइरालाको भेट गराउने कुरा सुरक्षाका दृष्टिले समेत चुनौतीपूर्ण थियो । त्यसैले बिहान उज्यालो नहुँदै सुरक्षाकर्मी छलेर कोइरालालाई ट्याक्सीबाट होटल बाहिर लैजाने योजना बन्यो । 

बिहानको समय दिल्लीमा खासै चहलपहल हुँदैन । कोइरालाका निजी सचिव गोकर्ण पौडेलले त्यो बिहानको घटना सम्झिए – ‘बिहान उज्यालो नहुँदै ट्याक्सी लिएर चक्र होटल पुगे । कोइराला कपडा लगाएर तयारी अवस्थामा थिए । बाहिर निस्कनलाई । पूर्व प्रधानमन्त्रीको हैसियतमा सुरक्षाका लागि खटिएका भारतीय सुरक्षाकर्मीलाई छल्ने काम सहज थिएन । समस्या आई लाग्यो ।’ 

अनि कोइराला निजी सुरक्षा अधिकारी महेन्द्र मरासिनीले भारतीय सुरक्षाकर्मीलाई भने ‘ल हामी एक छिन बाहिर जाँऊ । ब्रेक फास्ट नगरी आज प्रधानमन्त्री तल आउनुहुन्न ।   रुममै ब्रेकफास्ट गर्ने भन्नु भएको छ । तपाईँहरु यहीँ ब्रेकफास्ट गरेर बस्नु होला जाने बेला म खबर गर्छु ।’ 

त्यही मौकामा चक्रले होटलको लउन्डरी बोक्नमात्र प्रयोग हुने लिफ्टमा राखेर कोइरालालाई बेसमेन्टमा पुर्‍याए । लिफ्टमा लेखिएको थियो ‘वन्ली फर लउन्डरी ।’ अनि ट्याक्सीमा हालेर कुदाई हाले । ट्याक्सी गुडेपछि चक्रले वामदेवलाई फोन लगाए । उनले भनेबमोजिमको बाटो हुँदै कोइरालालाई गन्तव्यतिर लैजान थाले । कति पटक त बाटो बिराएर फर्किनु पर्‍यो । कोइराला चढेको ट्याक्सीका चालक प्युठानका एक नेपाली थिए । उनी भन्न थाले – ‘उहाँ त नेपालको प्रधानमन्त्री हैन र ?’ चक्रले भने ‘कहाँको प्रधानमन्त्री हुनु । हैन । ल हिँड भाइ, हिँड ।’ दिल्लीका सडक गल्ली हुँदै तीनवटा ट्याक्सी फेरेर चक्रले कोइरालालाई जवाहरलाल नेहरु विश्वविद्यालय नजिक मोतिवाग पुर्‍याए ।

माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई पनि धेरै गाडी र बाटो बदल्दै वार्तास्थल पुगे । माओवादी र एमालेबीच एकीकरण भएर नेकपा (नेकपा)का अध्यक्ष भएपछि दाहालले लेखकलाई सुनाए – ‘दिल्लीका गल्लीहरुमा लुक्दै लुक्दै एउटा कम्पाउन्डवाला घरमा गयौँ । चारैतिर कम्पाउन्ड थियो । त्यसभित्र सानो सानो मन्दिर पनि थियोजस्तो लाग्छ । तिनताका कसैलाई भेट्नु पर्दा हाम्रो भूमिगत तरिका हुन्थ्यो, आफ्नै नेटवर्क थियो । त्यो नेटवर्क प्रयोग गरेर गएका थियौँ ।’ दाहाल र भट्टराईभन्दा अघि नै कोइराला पुगिसकेका थिए । 

माओवादी नेता क्षेत्रीले लेखकलाई सुनाए ‘पहिला जुन घरमा भेट्ने प्रबन्ध मिलाइएको थियो । सुरक्षाका दृष्टिले त्यहाँ उचित लागेन । फेरि नजिकै मन्दिरका चौकीदारसँग सम्पर्क गरेर मन्दिर परिसरमै भेट्ने व्यवस्था मिलाएँ ।’ कोइरालासँगको पहिलो भेटमा उनका तर्फबाट चक्र थिए भने माओवादीबाट प्रचण्ड, बाबुराम र वामदेव क्षेत्री । 
त्यही भेटमा कोइरालाले थाहा पाए प्रचण्डको एकदमै चञ्चले बानी । सुरुमा उनले नै भने ‘गिरिजाबाबु तपाईलाँई स्वागत छ । धेरै पहिलेदेखि हामीले तपाईसँग भेट्ने चाहना राखेका थियाैँ । सम्भव भएको थिएन । तर, तपाईँतर्फका सूचना हामीले पाइरहेका थियाैँ । संयोगले आज भेट भयो । यसलाई निरन्तरता दिइरहनु पर्छ ।’ 

त्यो भेट बारे अध्यक्ष दाहालले लेखकलाई सुनाए ‘गिरिजाबाबु त चेन स्मोकर पो हुनुहुँदो रहेछ । चुरोट खाएको खायै । बूढो मान्छे । म पनि तिनताका चुरोट पिउँथे । बूढाले पक्कै पिउनु हुन्न होला भनेर मैले सिगरेट लगेको थिइन । तर, उहाँले पिएको पियै गरेपछि मैले भने म पनि पिउँछु । उहाँको बट्टाबाट चुरोट झिकेर खाएको पनि म सम्झन्छु ।’ 

छलफलमा लामो बोल्ने कोइरालाको बानी थिएन । 

कोइराला : हैन तपाईँहरु शान्ति प्रक्रियामा आउने हो कि होइन ? साँचो कुरा गर्नुस् । 

प्रचण्ड : साँच्चै आउने हो । तर, तपाइँहरू गणतन्त्रमा जाने हो कि होइन ? 

कोइराला : ‘गणतन्त्रमा जाने हो तर अहिले नै गणतन्त्र भन्यो भने झनै बिग्रन्छ वातावरण । त्यसैले अहिलेलाई हामी पूर्ण लोकतन्त्र भनेर जाऊँ । पछि गणतन्त्रमै जाने हो ।’ 

कोइराला : तपाइँहरुको मप्रति अलि नराम्रो छाप छ भन्ने थाहा पाएर आफैँ भेट्न आएको हुँ । 

प्रचण्ड : गिरिजाबाबु राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि हतियार उठाएका हाैँ । तपाईले पनि प्रजातन्त्रका लागि यति लामो संघर्ष गर्नु भएको छ । हतियार नै उठाउनु भएको छ । हामीलाई सहयोग गर्नुस् । 

त्यो भेट बारे पूर्व प्रधानमन्त्री कोइरालाले लेखकसँग भनेका छन् – ‘मैले प्रचण्डसँग भेट्ने बेला काठमाडौंमा माओवादीले राजा ज्ञानेन्द्रलाई भेटे भन्ने चर्चा चलेको थियो । त्यसैले मैले सुरुमै प्रचण्डसँग सोधेको थिएँ – ‘तपाइँहरुले राजालाई त भेट्नु भएछ । प्रचण्ड र बाबुरामले हो भने ।’

कोइरालाले फेरि साधे ‘के भने त राजाले ।’

प्रचण्ड : तिमी र हामी मिलौँ । मिलेर राज्य सञ्चालन गरौँ । संसद्वादी दलका नेताहरु सबैलाई म जेलमा राखिदिन्छु ।

कोइराला : तपाईहरुले के भन्नुभयो त ? 

प्रचण्ड : हामीले मानेनौ । 

हामीले मानेनौ भन्ने प्रचण्डको कुरामा कोइरालालाई विश्वास भएन । 

प्रचण्डले कोइरालासँग भने – ‘गिरिजाबाबु हाम्रो माग अहिलेको संविधानभित्रबाट सम्भव छैन । तपाईँहरु गणतन्त्रमा जान तयार हुनुपर्छ । हामी बहुदलीय प्रतिस्पर्धामा आउछौँ ।’

कोइराला : प्रजातन्त्रका लागि म जस्तोसुकै त्याग गर्न तयार छु । राजतन्त्रमा प्रजातन्त्र रहँदैन । तर, लोकतन्त्रअन्तर्गत राजतन्त्र रहन सक्छ । तर, तपार्इँहरु र राजा मिलेर कतै हामीलाई सक्ने त होइन ?

आधाघन्टाको कुराकानीपछि कोइरालाले भने ‘ठीक छ प्रचण्ड जी । म अब जान्छु । 

चक्रसँग तपाईँहरु कुरा गर्नुस् । मैले आजै प्रधानमन्त्री अटलविहारी वाजपेयीसँग भेट्नु छ ।’ 

कोइराला हिँडेपछि माओवादी शीर्ष नेतृत्वसँग चक्रको लामै कुराकानी भयो । दाहालले लेखकलाई सुनाए ‘त्यो दिन एकदमै सकारात्मक कुरा भयो । त्यो वातावरण बनाउन चक्रजीको भूमिका थियो । बैठकमा उहाँ लगातार सहजीकरण गरिरहनु भएको थियो । गिरिजाबाबु भनेको अलि अभिभावकजस्तो भन्ने कि टावरिङ पर्सनालिटी भयो । त्यसकारण उहाँसँगै सबै कुरा खुलेर गर्न गाह्रो हुन्थ्यो । उहाँ निस्किएपछि चक्रजीसँग हाम्रो साथीको जस्तो कुरा हुने, चक्रजीसँग त्यसपछि हामीले खुलेर लामै कुरा गर्‍यौँ । अब के गर्ने ? कसरी वातावरण बनाउने ? देशलाई संविधान सभामा लैजान सकिन्छ कि सकिँदैन ? गणतन्त्रसम्म देश पुग्ला कि नपुग्ला ? भन्ने बारेमा खुलेर कुरा भयो । त्यसपछि निक्कै उत्साहित भएर हामी फर्किएका थियौँ ।’

त्यति बेला दाहालले भनेको स्मरण गर्दै चक्रले लेखकलाई सुनाएका थिए – ‘हेर्नुस् चक्रजी तपाईँहरुले एउटा कुरा भुल्नु भएन, तपाइँहरु संवैधानिक शक्ति हो । हामी संविधानबाहिर छौँ । त्यसैले संविधान भित्रबाट समाधान खोज्नुभयो भने हामी नअटाउन सक्छौँ ।’
सुरक्षाका दृष्टिले पनि भेटलाई दुवै पक्षले एकदमै गोप्य राखे । माओवादीमा दाहाल, भट्टराई र क्षेत्रीबाहेक कसैलाई थाहा दिइएन । 

कोइराला र माओवादी नेताहरुको भेट मन्दिरभित्र गराउनुको पनि एउटा अर्थ छ । भेट गरिरहँदा झ्यापझुप्प प्रहरी आइहाल्यो भने पनि मन्दिरमा त जो पनि आउँछ, को धनी को गरिब, को नेता को आतंककारी । कसैलाई केही थाहा हुन्न भनेर त्यो तहको सर्तकता अपनाइएको थियो । परिहाल्यो भने पूजा गर्न आएको बहाना हुन्छ भनेर कोइरालाको मोटरमा थाली अक्षता, फूल समेत राखिएको थियो ।’ कोइराला र दाहालको भेट सकिँदासम्म भारतीय सुरक्षा निकायले सुइँको पनि पाएनन् ।

यता त्यही भेटको सुइँको पाएपछि राजा र प्रधानमन्त्री देउवाको मिलोमतोमा संसद् भंग गरियो । देश झनै ठूलो राजनीतिक संकटमा फस्यो । फलस्वरुप छ वर्षमै (२०६५ जेठ १५) राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो ।  यो १२ वर्षको अवधिमा नेताको आचरण र क्रियाकलापको जुन तहमा आलोचना भएको छ यसलाई नेतृत्वले बेलैमा सम्बोधन नगर्ने हो भने दुर्घटना हुनसक्छ । 




प्रतिक्रिया