नेपाली पत्रकारिताको जिवित इतिहास र गोर्खापत्रका १ सय २३ वर्ष

image

मोतीराम भट्टका मामा नरदेव पाण्डे काठमाडौ फसिकेवका बासिन्दा थिए । तालुकवालाको रुपमा नै नरदेव पाण्डेको नियुक्ति भएको हुँदा सम्पादकको रुपमा भने पाण्डे थिएनन् । उनको नाममा जारी गरिएको सनदमा हाकिमको तलव मोरु ५० र एडिटरको तलव मोरु ३३ लेखिएको हुँदा एडिटरको नियुक्ति भएको भन्ने बुझिन्छ । तर को थिए भन्ने कतै लेखिएको इतिहास भने भेटिदैन । हुनसक्छ एडिटरको रुपमा पनि स्वयं पाण्डे नै रहेका थिए वा उनले कसैलाई नियुक्त गरेका थिए ।

नेपालको एक मात्रै राष्ट्रिय मुखपत्र पनि निकै बुढो भइसकेछ । बि.सं. १९५८ मा जन्मेको गोर्खापत्रले आजबाट १२३औं वर्षमा प्रवेश गरेको छ । नेपालको भाषाको बिकास तथा प्रबर्धनको लागि राजभाषाको रुपमा नामाकरण गर्नुपर्ने भए पछि राज भाषाको रुपमा गोर्खा भाषा नामाकरण भयो । गोर्खा भाषाको नामाकरणसंगै गोर्खा भाषाको मुखपत्रको रुपमा गोर्खापत्रको जन्म भयो । गोर्खापत्र वास्तवमा नेपाल सरकारको राजभाषाको मुखपत्र थियो । भागवत गीताको शान्ती पाठबाट आरम्भ गरिएको पहिलो अंक आज पनि यहि श्लोक गोरखापत्रको सबैभन्दा माथि सिरानमा छापिएको हुन्छ । सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ॥ सर्वे भद्राणि पश्यन्तु मा कश्चिददु:ख भाग्जन: ॥१॥ यस श्लोकको भाषानुवाद भने यसरी राखिएको थियो । निरोगी सबै हुन् सबै हुन सुखीया । सबै बेस देखुन् नहुन क्वै दुखीया ।। सबै को यसै पत्र ले हाथ सुहाओस् । सधै हर्षले दिल् सबै को भराओस् ।। १ ।। पहिलो अंकको पहिलो हरफमा गणेश स्तुति राखिएको थियो । श्री गणेशायनम: । विनायक नमस्तेऽस्तु शततं मोदकप्रिय । अविघ्नंकुरु मे देव सर्वकार्येषु सर्वदा ॥१॥ यसपछि केही जानकारी लेखिएको थियो । जस्का नाम का सम्बन्ध ले हामि हरु गोर्खालि कहियेका छौ उनै गोरक्ष कालि हरु को समझना गरी यो अखबार को प्रारम्भ गर्द छौ । यसरी पहिलो अंकको थालनी भएको थियो । साथै यसै पहिलो अंकमा नियमको रुपमा केही जानकारीहरु पनि दिइएको थियो । नियम १. यो पत्र प्रति सोमवार ७।७ दिनमा अनेक तरहका विषयले युक्त भै प्रकाश हुन्छ । २. गोर्खा पत्र को वर्ष दिनको सदर मोफसल सबैठाउ मा मूल्य ४ रुपिञा मात्र छ । ३. नमुना को १ कापि आये पछि जश्लाई ग्राहक हुना को मन्सुवाछ उन्ले कृपा पूर्वक वर्ष दिन को मूल्य ४ रु पठाई दिनुहोला. नत्र दोश्रो कापि आउन्या छैन । ४. ठेगाना बदलनू पर्यो भने आफ्नो नाम ठेगाना र नम्बर समेत लेखि पठाउनू होला नम्बर भने को अखबार मा टासिये को नाम ठेगाना भन्दा अघिल्तिर रहे को अङ्क हो, बुझ्नु होला. ५. बिज्ञापनको छपाई १ बाजि मात्र छपाउन्या लाई १ पङ्तिको ।ऽ दोश्रा वाजि लाई .. धेरै बाजि छपाउन्या बन्दोबस्त छापाखाना मा सूचना दी दर्याफ्त गर्नू होला. ६. परदेशी ग्राहक हरु ले रु. पठाउँदा नोट् वा टिकट रजिष्टरी गरी छापाखाना का ठेगाना मा पठाउनू भया ञाहाँ आई पुग्छ फरक पर्दैन. ठेगाना -- पं. नरदेव, मोतीकृष्ण शर्मा "पशुपत - छापाखाना" नेपाल. आजबाट यही नेपालको पहिलो राष्ट्रिय खबर पत्रिका गोरखापत्रले १२२ वर्ष पुरा गरेर १२३ वर्षमा प्रवेश गरेको छ । बि.सं १९५८ जेष्ठ वदी ३ रोज २ अर्थात १९५८ बैशाख २४ गते सोमवार पहिलो अंक छापिएको थियो । त्यसबेला गोर्खापत्र छाप्नको लागी राणा प्रधानमन्त्री देवशम्शेरले एउटा सनद जारी गरेका थिए । बि.सं १९५८ सुदी ११ रोज २ अर्थात १९५८ बैशाख १७ गते प्रकाशनका अख्तियारी पाएका नरदेव पाण्डेको नाममा जारी सनदमा छाप्न हुने र नहुने विषयहरु किटान गरिएको थियो । साथै लेखिएको थियो, "गोर्खाली अखवार हप्तावारी जम्मा १००० थान छापा गरि जारी गर्ने काम तेरा तालुकमा राखी बक्स्याको हुनाले सो कामलाई मदत गर्न टायप छापाखाना लेथोग्राफ छापाखाना समेत गरि उर्दिसवाल गरिबक्स्याको छ ।" मोतीराम भट्टका मामा नरदेव पाण्डे काठमाडौ फसिकेवका बासिन्दा थिए । तालुकवालाको रुपमा नै नरदेव पाण्डेको नियुक्ति भएको हुँदा सम्पादकको रुपमा भने पाण्डे थिएनन् । उनको नाममा जारी गरिएको सनदमा हाकिमको तलव मोरु ५० र एडिटरको तलव मोरु ३३ लेखिएको हुँदा एडिटरको नियुक्ति भएको भन्ने बुझिन्छ । तर को थिए भन्ने कतै लेखिएको इतिहास भने भेटिदैन । हुनसक्छ एडिटरको रुपमा पनि स्वयं पाण्डे नै रहेका थिए वा उनले कसैलाई नियुक्त गरेका थिए । बि.सं. १९४५ मा नरदेव पाण्डेले ठहिटीमा बनारसबाट पुस्तकहरु ल्याएर बिक्रि गर्ने थलो बनाएका थिए । जसको नाम उनले "ठहिंटी आढत" राखे । यहि ठहिँटी आढतमा बि.सं. १९५० आषाढ शुक्ल पूर्णिमा अर्थात १९५० असार १७ गते बिहिवारको दिन पशुपत छापाखाना पनि स्थापना गरेका थिए । यहि प्रेसमा बि.सं. १९५५ को साउन महिनादेखी नेपालको पहिलो मासिक पत्रिका "सुधासागर" छापिन थालेको थियो । तर पनि धेरैको भनाइमा यो पत्रिका बनारसमा छापिएर "ठहिंटी आढत"मा बिक्री गरिन्थ्यो भन्ने गरिन्छ । यसको तीन वर्ष पछि नै प्रधानमन्त्री देवशम्शेरले नरदेव पाण्डेलाई नै गोर्खापत्रको तालुकवाला बनाइ प्रकाशनको जिम्मा दिएका थिए । सप्ताहको एक अंकको रुपमा प्रत्येक सोमवार छापिन थालेको गोर्खापत्रको प्रकाशन करिव १५ महिना सम्म पशुपत छापाखानामा भएको देखिन्छ । पहिलो अंकदेखि वर्ष २ अंक ११ सम्मका पशुपत छापाखानामा छापिएको भन्ने देखिन्छ । प्रति महिना ४००० थान छापिए बापत ४५८४ मोरु प्राप्त हुन्थ्यो । यस रकमबाट प्रकाशन खर्चको साथ १७ जना कर्मचारीको तलव पनि यसै रकममा पर्दथ्यो । देवशम्शेरको शासनकालमा नरदेव गोर्खापत्रका तालुकवाला रहे । करिव ८ अंक प्रकाशिन हुँदा नै देवशम्शेरको पदच्युत भए । चन्द्रशम्शेरको शासनकाल बि.सं. १९५८ साउन १३ गते शुरु भए पनि नरदेव तालुकवाला नै रहेका थिए । यसरी बि.सं. १९५९ असार १० गतेको गोर्खापत्रको प्रकाशन पछि केही समयलाई रोकियो । साथै नरदेवको जागीर पनि रोकियो । बि.सं. १९६० भदौ २२ गते गोर्खापत्रको तालुकवालाको रुपमा जयपृथ्वीबहादुर सिंहको नियुक्त भए पछि फेरी गोर्खापत्रको प्रकाशन आरम्भ भयो । जयपृथ्वीबहादुर सिंह नेपालमा भाषासाधकको रुपमा उदाएका थिए । चन्द्रशम्शेरका ज्वाइ समेत रहेका जयपृथ्वीबहादुर सिंहले देवशम्शेरको प्रधानमन्त्री कालमा नै नेपालको राजभाषाको नाम नेपाली हुनुपर्छ भन्ने अभियानमा लागेर नेपाली भाषामा शिक्षा दिनुपर्छ बिद्यालयहरु खोल्न दिनुपर्छ भन्दै संस्कृत पाठशाला तथा भाषा पाठशालाको शुरुवात गर्न लगाएका थिए । यिनै जयपृथ्वीबहादुर सिंहलाई चन्द्रशम्शेरको आगमनसंगै गोर्खापत्रको तालुकवाला नियुक्त गराइए पनि गोर्खापत्रको नाम भने नेपालपत्र राख्न सकेनन् । अर्थात चन्द्रशम्शेरले राख्न दिएनन् । यसरी गोर्खापत्र नामबाट नै प्रकाशनको निरन्तरता रहिरह्यो । सबैभन्दा रोचक कुरा त गोर्खापत्रलाई २०१३ सालसम्म आफ्नो वास्तविक जन्म मिती नै थाहा थिएन । हरेक नयाँ वर्ष संगै आफ्नो अंकमा एक वर्ष थप्ने गर्दथ्यो । २०१३ सालमा मदन पुरस्कार पुस्तकालयमा गोर्खापत्रको पहिलो अंक आइपुगे पछि कमल दिक्षितले ज्योतिष मंगलराज जोशीको सहयोगमा १९५८ बैशाख २४ गते तदनुसार १९०१ मे ६ को मिती औल्याइ न्वारान गरिदिएका हुन् । त्यति मात्र नभएर बिहान ११ बजे पहिलो प्रति छापिएको हिसाव लगाएर जन्म कुण्डली नै बनाइदिएका थिए । यस पछि बल्ल गोर्खापत्रले आफ्नो जन्मदिन बैशाख २४ लाई मान्न थालेका थियो । हाते प्रेसबाट छापिने गरेको गोर्खापत्रले बि.सं. १९६९ मा चन्द्रज्योति बिद्युत गृहबाट बिद्युतको उत्पादन हुन थालेपछि भने बिजुलीबाट चल्ने मेसिन मगाइ प्रकाशन गर्न थालेको थियो । यसैगरि कहिले गोर्खापत्र र कहिले गोर्षापत्रको रुपमा छापिएको गोर्खापत्रले १९८३ जेठ ४ गतेको अंकदेखि भने गोरखापत्रको रुपमा लेख्न थाल्यो । यस्तै १९८४ बैशाख १३ गते पहिलो पटक सर्वसाधारणको तस्विर छापेर गोरखापत्रले फोटोपत्रकारिताको शुभारम्भ गरेको थियो । त्यस अंकमा बिरगञ्जकी १२ वर्षिया बालिका सूर्यमती श्रेष्ठको चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको तस्विर छापिएको थियो । यसैको कारणले नेपालमा बैशाख १३ लाई फोटो पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको छ । तर गोरखापत्रमा तस्विर छापिएको इतिहास नै कोट्याउने हो भने १९८२ असार २३ गतेको अंकमा तत्कालिन श्री ३ चन्द्रशम्शेरको तस्विर छापिएको थियो । असार २५ गते श्री ३ को जन्मोत्सव परेको हुँदा असार २३ गतेको अंकमा तस्विर छापिएको थियो । तर यस तस्विरका साथ कुनै विवरण राखिएको थिएन । यस पछि पनि श्री ३ चन्द्रशम्शेरको तस्विर दुइ पटक छापिएको थियो । शुरुवाती समय देखि नै प्रत्येक सोमवार छापिदै आएको गोर्खापत्रले जुद्धशम्शेरको समयमा बि.सं. १९९१ बैशाख ४ गते सोमवार छापिए पनि बैशाख ९ गते शुक्रवार पून छापियो र यस पछि निरन्तर रुपमा शुक्रवार प्रकाशन गर्न थाल्यो । यस्तै १९९१ जेठ ५ गते सम्पादकको रुपमा प्रेमराजको नियुक्ति पछि गोरखापत्रमा सम्पादकको नाम पनि लेख्न थालियो । यसै गरि गोरखापत्रले १९९८ भदौ १७ गते त्यसबेलाका प्रधानमन्त्री जुद्धशम्शेरको शासनकालको प्रशंसा गर्दै पहिलो विशेषांकको रुपमा उदयोत्सवाङ्क निकालेको थियो । बि.सं. २००० असोज २९ गतेबाट भने गोरखापत्रले हप्तामा दुइ पटक सोमवार र शुक्रवार प्रकाशन गर्न थाल्यो । यसैगरि पद्मशम्शेरको शासनकालमा २००३ पुस ८ गतेबाट भने हप्तामा तीन पटक (सोम, बुध र शुक्र) छापिन थाल्यो । २०१२ भदौ ३० गते बालकृष्ण समको नियुक्ति पछि गोरखापत्रले केही अन्य सम्पादकको साथ काम गर्नुपर्दा आफूलाई प्रधानसम्पादकको रुपमा अंकित गरेका थिए । २०१४ असोज २३ सम्म बालकृष्ण सम नै प्रधानसम्पादक रहे । वहाँ पछि टेकबहादुर खत्री २०१५ जेठ २० सम्म प्रधानसम्पादक रहे । यसरी आरोह अवरोहको बिच छापिरहेको गोरखापत्रले २०१७ सालको प्रजातन्त्र दिवसको दिनदेखि भने दैनिक हुने अवसर पायो । यसरी दैनिक छापिरहेको गोरखापत्रले २०१९ असार ९ गते देखि भने शनिवासरिय परिशिष्टांक निकाल्न थालेको थियो । २०१९ कार्तिक २ गते गोरखापत्रको उन्माद केही बढेको पाँउछौ । दैनिक चलाउन नै धौ धौ भइरहेको समयमा यसै मिति देखी गोरखापत्रले प्रभातकालिन र सायंकालिन गरि दैनिक दुइ अंक प्रकाशन गर्न थाल्यो । यसको निरन्तरता भने २०२२ असोज २२ सम्म रह्यो । यसै गरि राष्ट्रिय पत्रिकाको रुपमा रहेको गोरखापत्रले सहप्रकाशनको रुपमा अंग्रेजी दैनिकको रुपमा द राइजिङ नेपालको प्रकाशन २०२२ सालको पुस १ गतेबाट गर्न थाल्यो । २०२५ सालको जेठ देखि मासिक रुपमा मधुपर्कको प्रकाशन थालनि गर्यो । २०४५ साल असारबाट युवामञ्चको प्रकाशन भयो । २०४७ बैशाख ९ गतेबाट मुना प्रकाशन भयो । २०५९ असार १ गतेबाट रंगिन प्रकाशनको आरम्भ भयो । राजा ज्ञानेन्द्रको शासनकालमा गोरखापत्रको नामाकरण फेरी एकपटक गोर्खापत्र रहन थालेको थियो । तर देशमा राजनैतिक परिवर्तन पछि २०६३ बैशाख १८ गतेबाट फेरी आफ्नो पुरानो नाम गोरखापत्रको रुपमा नै छापिन थाल्यो । साथै देशमा गणतन्त्रको स्थापना पछि गोरखापत्र पनि गणतान्त्रिक हुदै २०६४ असोज १ गतेबाट बहुभाषिक रुपमा "नयाँ नेपाल" शिर्षक अन्तर्गत नेपालमा बोलिन भाषाहरुको समाचार सामग्री पनि प्रकाशित हुन थाल्यो । यसरी देशको राष्ट्रिय पत्रिकाको गर्व बोकेको गोरखापत्रले यस वर्ष १२२ वर्ष पुरा गरि १२३औ वर्षमा प्रवेश गरेको छ । यसको निरन्तरता देशसंगै सधै रहोस यहि शुभकामना ।




प्रतिक्रिया